बर्दियाको राजापुर नगरपालिका वडा नं. ३ मा सार्वजनिक सुनुवाई गरिएको छ । राजापुर नगरपालिका वडा नं. ३ को कार्यालय प्रयागपुरमा रसुवाको भोटेकोशी सहित नुवाकोट जिल्लामा गएको महाप्रलयकारी बाढीमा संकलन गरिएको राहत सामग्री र नगदको जानकारी दिन सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । वडामा आयोजित सार्वजनिक सुनुवाइमा वडाका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बडघरहरु, समाजसेवी, बुद्धजीविको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा एमालेका कमल शर्माले गाउँगाउँबाट सहर्ष रुपमा राहत अन्न र नगद संकलन भएको र एक ठाउँको नेपालीको दुःखमा अर्काे ठाउँको नेपालीले सहयोग गर्नुभएकोमा खुशी समेत व्यक्त गर्नु भयो । राजापुर नगरपालिका ३ मुरैयाका वडघर धनीराम थारुले वडाको १० गाउँमध्ये मुरैयाबाट सबैभन्दा धेरै नगद र जिन्सी सहयोग गर्ने आफ्ना गाउँवासीलाई विशेष धन्यवाद दिनु भएको थियो । बडघर थारुले हरेक वडाबाट उठेको राहत सामग्री र नगद वास्तविक पीडितको हातमा पुग्नु पर्ने भन्दै स्थानीय सरकारले ध्यान समेत दिनु पर्ने बताउनु भयो ।
वडा नं. ३ का १० गाउँटोलबाट नगद १ लाख १९ हजार ३ सय ९५ रुपैया र ४३ कुन्टल ९३ किलो चामल, १ कुन्टल ५५ किलो दाल, ६७. ५ किलो गहुँ, ४८ किलो नुन, ३.५ किलो लसुन, १ किलो खुर्सानी, ३.५ किलो बेसार र २६.५ किलो आलु संकलन भएको वडा सचिव सोनु सिजापति मगरले बताउनु भयो । कार्यक्रमको समापन गर्दै वडाध्यक्ष प्रसादु थारुले राजापुर नगरपालिकाबाट ११ जना सपर्क विहिन रहेको र सबैजना सकुशल सम्पर्कमा आउन भन्ने कामना गर्दै वडाका स्थानीयले प्रभावित क्षेत्रका नागरिकका लागि ठूलो सहयोग संकलन गरिदिएकोमा धन्यवाद दिनु भयो । नगद रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको र सामग्री नगरपालिकामा बुझाउने र पठाउने बताउँदै कार्यक्रम समापन गर्नु भएको थियो ।