राजापुर, बर्दिया । राजापुर नगरपालिका–३ की महिला स्वास्थ्य स्वयंसेविका लामंगरी थारुले करिब २९ वर्षसम्म स्वास्थ्य स्वयंसेविकाका रूपमा सेवा गरेपछि अनिवार्य अवकाश लिनुभएको छ। उहाँको योगदानको कदर गर्दै राजापुर नगरपालिका–३ का वडा अध्यक्ष प्रसाद थारुले दोसल्ला, कदरपत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक विदाइ गर्नुभएको छ।
लामो समयदेखि गाउँ–समाजमा महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी निर्वाह गर्दै आउनुभएकी थारुले स्वास्थ्य तथा सरसफाइ, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य, बालबालिकाको हेरचाह तथा रुघाखोकीलगायत गाउँमा देखापर्ने विभिन्न रोग तथा महामारीबाट बच्न जनचेतना फैलाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
विदाइ कार्यक्रममा वडा अध्यक्ष प्रसाद थारुले लामंगरी थारुले स्वास्थ्य क्षेत्रमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँको आगामी जीवन सुखद, स्वस्थ र सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नम्बर ३ का वडा सचिव सोनु सिजापति, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायतको उपस्थिति रहेको थियो।
करिब तीन दशकसम्म सहकार्य गर्दै आउनुभएकी लामंगरी थारुको विदाइको क्षणमा उपस्थित महिला स्वास्थ्य स्वयंसेविकाहरू भावुक बनेका थिए। उनीहरूले उहाँको लामो अनुभव, ज्ञान, सिकाइ र समाजप्रतिको सेवाभावबाट आफूहरूलाई निरन्तर प्रेरणा मिलेको बताउँदै उहाँको योगदानलाई सधैं सम्झिरहने बताएका छन्।
समाज र स्वास्थ्य सेवामा लामो समयसम्म पुर्याउनुभएको अमूल्य योगदानका लागि लामंगरी थारुलाई हार्दिक सम्मान तथा आगामी यात्राका लागि सुखद, स्वस्थ र सफल जीवनको शुभकामना।