बर्दिया, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि सर्वसाधारणलाई दैनिक घरायसी कामकाज सञ्चालन गर्न कठिनाइ भएको छ।
राजापुर, गेरुवा लगायतका स्थानीय बजारमा रहेका मनकामना ग्यास, भेरी ग्यास र नेपाल ग्यासका डिलरहरूमा पर्याप्त ग्यास उपलब्ध नभएपछि उपभोक्ताले खाली सिलिन्डर बोकेर पटक–पटक डिलर धाउनुपर्ने अवस्था सिर्जना भएको छ।
स्थानीयवासीका अनुसार नेपालगञ्जबाट सीमित परिमाणमा मात्रै ग्यास आपूर्ति हुने भएकाले मागअनुसार वितरण हुन सकेको छैन। ग्यास आउने जानकारी पाएलगत्तै पहिलेदेखि खाली सिलिन्डर जम्मा गरेका व्यक्ति तथा केही होटल व्यवसायीले धेरै परिमाणमा ग्यास लैजाने गरेका कारण सामान्य उपभोक्ता ग्यासबाट वञ्चित हुने गरेका छन्।
ग्यास अभावका कारण दैनिक खाना पकाउन समस्या भएको भन्दै स्थानीयले नियमित र पर्याप्त आपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उपभोक्ताले वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन तथा कृत्रिम अभाव हुन नदिन सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
यता, ग्यास डिलरहरूले भने नेपालगञ्जबाट नै सीमित परिमाणमा ग्यास प्राप्त भएकाले मागअनुसार सबै उपभोक्तालाई उपलब्ध गराउन कठिनाइ भइरहेको बताएका छन्।राजापुरमा आएका ग्यास सिलिन्डरहरू भेरी ग्यासडिलर का प्रोप्राइटर अभिषेक मित्तलले पारदर्शी ढंगले बिल काटी खाली सिलिन्डर जम्मा गरी लाइनबद्ध तरिकाले वितरण गरिरहेको देखिन्छ ।