राजापुर, बर्दिया । अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजापुर नगर समितिले लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेको छ।
अभियानअन्तर्गत पहिलो दिन २५ गते राजापुर नगरपालिका–१ स्थित सोनपुर बजारमा प्रभातफेरी र्याली निकालिएको थियो। र्याली सोनपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
त्यस्तै, अभियानको दोस्रो दिन राजापुर नगरपालिका–६ स्थित जोगीपुर चोकबाट सचेतनामूलक र्याली निकालिएको थियो। र्याली राजापुर नगरपालिका–१० स्थित सोमि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
सोमि चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा राजापुर नगर समितिका सभापति इमबहादुर केसी (ईमु) ले लागूऔषधको प्रयोगले व्यक्ति, परिवार र समग्र समाजमा गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रण तथा न्यूनीकरणका लागि सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभयो।

उहाँले विशेषगरी युवापुस्तालाई लागूऔषधको कुलतबाट टाढा राख्दै उनीहरूको ऊर्जा, क्षमता र प्रतिभालाई सकारात्मक तथा सिर्जनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। लागूऔषधविरुद्धको अभियानलाई प्रभावकारी बनाउन परिवार, विद्यालय, समुदाय, युवा तथा सम्बन्धित निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सञ्चालन गरिएको अभियानमार्फत युवाहरूलाई लागूऔषधको प्रयोगबाट हुने नकारात्मक असरबारे सचेत गराउँदै स्वस्थ, सुरक्षित र जिम्मेवार समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
रास्वपा राजापुर नगर समितिका सचिव गोपाल पौडेल ले भाेली २७ गते याे अभियानलाई राजापुर नगरपालिकाका सबै वडामा निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार अभियानअन्तर्गत विभिन्न वडा तथा सार्वजनिक स्थानमा सचेतनामूलक कार्यक्रम, प्रभातफेरी, र्याली, कोणसभा तथा अन्य जनचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ।

कार्यक्रममा नगर उपसभापति, कोषाध्यक्ष, वडा सभापतिहरू, पूर्व नगर सभापति, पार्टीका जिम्मेवार सदस्यहरू, प्रहरी, समाजसेवी, बुद्धिजीवी, व्यापारी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नगर उपसभापति विष्णा ढुङ्गाना का अनुसार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरलाई मध्यनजर गर्दै आगामी दिनमा राजापुर बजारमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
रास्वपा राजापुर नगर समितिले लागूऔषधविरुद्धको अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै राजापुरका सबै वडामा पुगेर सामूहिक रूपमा सचेतना फैलाउने जनाएको छ।
