राजापुर बर्दिया— समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत विपद् व्यवस्थापन तथा बाढी र तातो हावाको लहर (लु) को उच्च जोखिममा रहेका समुदायहरूको विपद् उत्थानशीलता अभिवृद्धिका लागि सञ्चालनमा रहेका योजनाहरूको अनुगमन गरिएको छ। राजापुर नगरपालिकाको समन्वयमा भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप), बाँकेको सहकार्यमा राजापुर नगरपालिका वडा नम्बर १, ३ र ४ मा सञ्चालन भएका विपद् जोखिम न्यूनीकरणका पूर्वतयारी योजनाहरूको संयुक्त अनुगमन गरिएको हो। अनुगमन टोलीको संयोजकत्व राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले गर्नुभएको थियो। अनुगमनका क्रममा वडा नम्बर १ को ट्युनीमा सुरक्षित आश्रय स्थल मर्मत, वडा नम्बर ३ को नङ्गापुरमा आश्रय स्थल मर्मत, उच्चधारा निर्माण, वडा नम्बर ३ को टेडिया र वडा नम्बर ४ को संघर्षनगर ,नङ्गापुर ,दौलतपुरमा स्वचालित बहुउद्देश्यीय अटोमेटिक साइरन जडानलगायतका योजनाहरूको स्थलगत निरीक्षण गरिएको थियो। समुदायका अध्यक्ष सिता चौधरीका अनुसार, उच्चधारा, अटोमेटिक साइरन र सुरक्षित आश्रय स्थल निर्माणपछि विपद्को समयमा समुदायलाई सुरक्षित स्थानमा बस्न, स्वच्छ पानी पिउन तथा विपद् पूर्वतयारीबारे सचेत हुन ठूलो सहयोग पुगेको छ। बाढीको उच्च जोखिममा रहेको यस क्षेत्रमा यस्ता संरचनाले जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो। वडा नम्बर १ ट्युनीमा आश्रय स्थल मर्मतका लागि ६ लाख २३ हजार २२ रुपैयाँ ११ पैसा, वडा नम्बर ३ नङ्गापुरमा ६ लाख ४२ हजार ८१८ रुपैयाँ, उच्चधारा निर्माणका लागि १७ लाख १० हजार ६३ रुपैयाँ, संघर्ष नगरमा अटोमेटिक बहुउद्देश्यीय साइरन जडानका लागि ६ लाख ९९ हजार ९०३ रुपैयाँ, शाखा नङ्गापुरमा साइरन जडानका लागि ६ लाख ९९ हजार ९०३ रुपैयाँ ५० पैसा लगानी गरिएको छ। उपप्रमुख मनकला कुमारी चौधरीले उच्च जोखिममा रहेका क्षेत्रहरूलाई प्राथमिकतामा राखी समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिएको बताउँदै विपद् पूर्वसूचनामा आधारित संरचनाले जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। अनुगमनका क्रममा स्थानीयवासीहरूले अन्न भण्डारणका लागि भण्डारण व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए। अनुगमन टोलीमा प्रशासन शाखा प्रमुख आन्द जैसी ,योजना शाखा प्रमुख रमेश पोख्रेल, वडा नम्बर १ का अध्यक्ष बाबुराम चौधरी, वडा नम्बर ३ का अध्यक्ष प्रसाद थारु, वडा नम्बर ४ का अध्यक्ष विदुर पोख्रेल, सञ्चारकर्मी तथा बी–ग्रुप बाँकेको टोलीको सहभागिता रहेको थियो। समुदायले विपद् क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै बी–ग्रुपलाई धन्यवाद दिँदै विपद् प्रभावित व्यक्तिहरूलाई जीविकोपार्जन कार्यक्रमसँग जोड्न आग्रह गरेका छन्। जडान गरिएका अटोमेटिक साइरन, उच्चधारा र सुरक्षित आश्रय स्थलको संरक्षण समुदाय स्वयंले गर्ने र विपद् व्यवस्थापन समितिले नियमित निगरानी गर्ने बी–ग्रुपका कार्यक्रम अधिकृत जनक चौधरीले जानकारी दिनुभयो। विपद् फोकल पर्सन खुसीराम चौधरीका अनुसार, यो प्रणालीले विपद्को समयमा समुदायलाई छिटो, प्रभावकारी र विश्वसनीय पूर्वसूचना दिन महत्वपूर्ण भूमिका खेल्नेछ। समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमले मनसुनजन्य विपद्—विशेषगरी बाढी र तातो हावाको लहरबाट जोखिममा रहेका व्यक्ति, परिवार र समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने, अनुकूलन क्षमता बढाउने, प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्ने तथा सम्भावित क्षति न्यूनीकरण गर्ने लक्ष्य लिएको छ। साथै, बीमा योजनाजस्ता संयन्त्रमार्फत जीविकोपार्जन सुरक्षामा पनि सहयोग पुर्याउने उद्देश्य रहेको भेरी बाताबरणीय विशिष्टता समुह बि गुरुप राजापुरका कार्यालय प्रमुख हेमन्तराज जोसीले जानकारी दिनुभयो ।