वर्तमानको तिक्तता (कविता)
विष्णु पोखरेल
मधुवन ४ वर्दिया हाल नेरा नमूना मावि ढोढरीमा कार्यरत
विद्याको महिमा गाउने तिमी रहेनौ स्कुलमा
विगतको यादमा विक्षिप्त भइ दिन काट्छु मुस्किलमा
मनको भारी बिसाउने गर्छु साथीको माझमा
सुन्यता फेरि अटस र मटस फर्किन्छ साँझमा ।
फुर्सदको बेला मनको भारी गरूङ्गो हुन्छ झन्
पुरानो घाउ नि बल्झेको बल्झ्यै दुखेको दुख्यै मन
बाहिर बोल्छु तिमी नै तिमी मनको कुनामा
आनन्द आउछ एकान्त बसी कल्पेर रूनामा ।
कहिल्यै रूखो बोलेनौ तिमी सुझाव बोलीमा
क्षणभर भयो सुकोमल शरीर दुष्टको गोलीमा
आशाको दीप धपक्कै निभ्यो अध्यारो पारेर
जीवन त्यसै काट्नु नै पर्यो खुसीलाई मारेर ।
यत्र र तत्र मान्छेको भिड तर त्यो शुन्यता
सोझालाई लुट्ने , निर्धोलाई ठग्ने बन्यो नि मान्यता
बोल्नेको यहाँ बिक्दछ पिठो सढेको भएनि
निर्धोलाई न्याय कोही दिन्न यहाँ अन्याय भएनि ।
न्यायको विगुल फुकेर हिड्छन् ब्यवहारमा भेटिन्न
आफ्नालाई घात गर्नेको छाप कहिल्यै मेटिन्न
देशलाई मुक्त बनाउने सपना अधुरै हुने भो
दुखीको सुदिन ल्याउने वाचा मधुरै हुने भो ।
सपनाको महल खरानी भयो दुष्टको गोलीमा
अडान छैन सत्यको निम्ति नेताका बोलीमा
सहिदका सपना के हुन्छ पुरा भकारी स्वार्थको
अनाथ भए छोरा र छोरी बलिदान ब्यर्थको ।
सपना पुरा भए त हुन्थ्यो बलिदान हुनेको
ओठमा हाँसो कहिले होला पीडित भै रूनेको
चसक्क गरी चस्कन्छ मुटु दुष्टका माझमा
सहिदको छाँया देख्दछु सधै बेलुकी साँझमा ।
लोकप्रिय समाचार