Logo

कांग्रेस बैठक आज : चुनावबारे दुईथरी मत

Online Halkhabar १४ माघ २०७८, शुक्रबार ०८:४५ मा प्रकाशित

काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

आज दिउँसो ३ बजे भर्चुअल माध्यमद्वारा बैठक बस्न लागिएको कांग्रेसले जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयले हिजो निकालेको सूचनामा बैठकको एजेण्डा केन्द्रीय कार्यसम्पादन गठनबारे भनिएको छ । तर संस्थापनइतर पक्षका नेताहरुले चुनावको विषयमा पनि कुरा उठाउने तयारी गरेका छन् ।

पार्टीभित्र छलफल नै नगरि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव र सत्ता गठबन्धनबारे छलफल गरिरहेको भन्दै उनीहरुले बैठकको माग गर्दै आएका थिए।

चुनावको मिति र चुनावमा अरु दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसमा मत विभाजित छ ।

प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहबीच फरक मत देखिएको हो । कोइराला समूहले स्थानीय चुनाव कुनै पनि बहानामा पर धकेल्न नहुने बताउँदै आएको छ ।

पालिकाको चुनाव वैशाखभन्दा पर सारेमा संविधान नै धरापमा पर्ने कोइराला समूहको निष्कर्ष छ । केही दिनअघि छुट्टै भर्जुअल बैठक गरेर कोइराला समूहले गठबन्धन वर्तमान सत्ता सञ्चालनका लागि सीमित हुनुपर्ने तर तीनवटै तहको चुनावमा पार्टीले गठबन्धन गर्न नहुने समेत निष्कर्ष निकालेको थियो ।

निर्वाचन आयोगले वैशाखमा चुनाव गर्नको लागि पटकपटक दबाब दिँदै आए पनि सरकार चुनाव असोजपछि गर्ने गृहकार्यमै लागेको छ । संविधानको धारा २२५ सँग स्थानीय तह निर्वाचन ऐनको दफा ३ को प्रावधान बाझिएको भन्दै सरकारले कानुन व्यवसायीसँग छलफल गरिरहेको छ ।

निर्वाचन ऐनको दफा ३ मा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनु दुई महिनाअघि निर्वाचन गरिनुपर्ने उल्लेख छ ।

संविधानको दफा २२५ मा गाउँ तथा नगर सभाको कार्यकाल ५ वर्ष हुने र कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने व्यवस्था छ । तर निर्वाचन ऐनअनुसार नै जेठ ५ गतेभित्र चुनाव हुनुपर्ने आयोग र संविधानविद्हरुको ठहर छ ।

पछिल्लोपटक चुनावको विषयमा सरकार र आयोगबीच नै अविश्वास बढेको छ । आयोगले परामर्शबिना स्थानीय चुनावको मिति प्रस्ताव गरेको भन्दै सरकार असन्तुष्ट छ भने सरकारले भेटको लागि समय नदिएको आयोगका पदाधिकारीको गुनासो छ ।

विज्ञप्ति : 


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?