कालिकोट। कालिकोट जिल्लाको सुभकालिका गाउँपालिकाअन्तर्गत साविक सुकाटिया गाउँ विकास समिति–४ (अधिकारीवाडा) का स्थानीयवासीले हालको वडा विभाजनका कारण आफूहरू अन्यायमा परेको भन्दै वडा सीमाङ्कन पुनरावलोकन गर्न माग गरेका छन्।
स्थानीयका अनुसार विगतदेखि राजनीतिक स्वार्थका आधारमा साविक वडा नं. ४ लाई हालको वडा नं. ५ मा समावेश गरिएकाले स्थानीयले विभिन्न प्रशासनिक तथा विकाससम्बन्धी सेवा–सुविधा प्राप्त गर्न कठिनाइ भोग्दै आएका छन्। उनीहरूले भूगोल, जनसङ्ख्या, जग्गा, वन, सिँचाइ, शिक्षा तथा जनगुनासोलाई आधार बनाएर सीमाङ्कन पुनःनिर्धारण गर्न सरकारसँग आग्रह गरेका छन्।
स्थानीयको माग अनुसार साविक वडा नं. ४ (अधिकारीवाडा) लाई हालको वडा नं. ४ मा समावेश गरिनुपर्ने, वा सम्भव नभए साविक वडा नं. ३ र ४ लाई एकीकृत गरी नयाँ व्यवस्था गर्नुपर्ने बताएका छन्। उनीहरूको भनाइमा हालको वडा नं. ५ सँग आफ्नो सामाजिक, भौगोलिक तथा प्रशासनिक सम्बन्ध सहज छैन, साथै त्यस क्षेत्रमा अधिकांश स्थानीयको जग्गा वा वनसँग प्रत्यक्ष सम्बन्ध पनि नरहेको दाबी गरिएको छ।
स्थानीयले बहुसंख्यक बासिन्दाको चाहना र वस्तुगत आधारलाई सम्मान गर्दै निष्पक्ष निर्णय गर्न आग्रह गरेका छन्। मागको सुनुवाइ नभए आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि उनीहरूले दिएका छन्।
यस विषयमा सम्बन्धित निकायले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
