
चैत ११ गते / अनलाइन हालखबर बर्दियाको मधुवन नगरपालिकाले स्वास्थ्य चौकीमा निःशुल्क प्रयोगशाला सेवा दिने घोषणा गरेको छ । मधुवन नगरपालिकाको वडा नं ४ मा रहेको ढोढरी स्वास्थ्य चौकीमा प्रयोगशाला चेक जाँच पुर्णरुपमा निःशुल्क गरीएको हो ।
स्वास्थ्य चौकीमा निःशुल्क प्रयोगशाला घोषणा कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य चौकीबाट हुने २० प्रकारका परिक्षण निःशुल्क गरीने घोषणा गरीएको छ । स्वास्थ्य चौकीमा आउने सबै विरामीहरुको रगत, दिशा र पिसाब जाँच गर्दा कुनैपनि शुल्क लिईने छैन । यस अघि प्रयोगशालामा रोग चेकजाँचको आधारमा रु २५ देखि ५ सय रुपैँया सम्म शुल्क लिने गरीन्थ्यो । मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्री ( कृष्ण )ले अब देखि ढोढरी स्वास्थ्य चौकीमा सबै गरिब दुःखीहरुले निःशुल्क र सहज तरिकाले रगत दिशा पिसाब चेक जाँच गर्न पाउने बताउनु भयो । उहाँले भन्नुभयो –‘यो निःशुल्क प्रयोगशाला घोषणा गरीएको पहिलो स्वास्थ्य चौकी हो, अरु तिन ओटा स्वास्थ्य चौकीमा पनि प्रयोगशाला सेवा निःशुल्क गर्ने तयारीमा छौँ ।’ उहाँले निर्वाचनमा आफ्नो पाटिको घोषणा पत्रमा स्वास्थ्य, शिक्षा, सडक, कृषि र पशुपालन व्यवस्थीत गर्ने प्रतिवद्धता गरेको र सोही अनुरुप स्वास्थ्यलाई सर्वसुलभ बनाउनका लागि प्रयोगशाला निःशुल्क गरीएको बताउनु भयो । त्यस्तै प्रयोगशाला निःशुल्क भएपछि स्वास्थ्य चौकीमा सेवा लिनेको संख्यामा उच्च वृद्धि हुने अपेक्षा राखिएको वडा अध्यक्ष बिन्तिराम थारुले बताउनु भयो। यस अघि ६० बर्ष माथिका नागरिकलाई दिदै आएको सेवा अब सबै नागरिकलाई प्रयोगशाला सेवा निःशुल्क भएपछि ढोढरीका स्थानीयबासीहरु हर्षित भएका छन् ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र नगरकमिटी अध्यक्ष हरीहर चौधरीले स्थानीय सरकारबाट जनताले पाउनु पर्ने वास्तविक सुविधाको सुरुवात भएको र माओवादी केन्द्र को उपहार गाउँ नगर मा सिंहदरबार भन्ने मुल नारा लागू हुँदै गएको बताउनु भयो ।